काठमाण्डाै – धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आज दही व्यवसायीलाई भ्याइनभ्याइ भएको छ । आज दहीको माग र कारोबार उच्च हुने भएकाले व्यवसायीलाई चटारो छ ।

मुख्यगरी भक्तपुरमा उत्पादन हुने दहीको माग काठमाण्डौ उपत्यकामा मात्र नभएर उपत्यका बाहिर पनि हुने गरेको छ । भक्तपुरमा उत्पादन हुने मौलिक र परम्परागत जुजु धौ प्रख्यात छ । जुजु धौको मौलिकता यसको स्वाद र माटोको भ्यगः अर्थात् कटौरा हो । स्वाद र गुणस्तरका कारण जुजु धाै लोकप्रिय बनेको छ । असार १५ कै लागि अरु बेलाभन्दा चार गुणा धेरै जुजु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् ।

भक्तपुर नगरपालिका–२ व्यासीका व्यवसायी रिना सुवालका अनुसार आजका लागि एक हप्ता अघिदेखि नै माग आउने गरेको छ । भक्तपुरमा जुजु धौ व्यवसायी झण्डै डेढ सयको सङ्ख्यामा छन् । ती व्यवसायीले औसतमा दैनिक २५/३० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आएका छन् ।

आजको दिन जुजु धौको माग धान्न कम्तीमा एक लाख लिटर दूध आवश्यक पर्ने भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैँजुले बताउनुभयो । बढ्दो सहरीकरणले भैँसी पालन व्यवसाय घट्दै गएपछि अहिले धुलिखेल, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको सैँजुले जानकारी दिनुभयो ।

जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउनेभन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै कराईमा उमाल्नु पर्छ । दूध उमाल्दा एक क्यान बराबर चार किलो चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ ।

भुसमाथि राखेको माटोको कटौरामा पहिले कटौराको आधा भाग मात्र दूध राख्नु पर्छ । त्यसपछि दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूधभरी हालेर धौ पुसा (दहीको बीउ/जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटौरामाथि अर्को कटौराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्छ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।

परम्परागत शैलीमा दही उत्पादन गर्दा माग धान्न निकै गाह्रो भएकाले छिटो जमाउनका लागि व्यवसायीले पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् । जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्ने हो । माटोको कटौराको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होइन विदेशी पर्यटकले समेत जुजु धौको स्वाद लिएर फर्कने गर्छन् ।

असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वकै रुपमा विकास भएकाले किसान र व्यवसायीलाई आम्दानी गर्ने माध्यम पनि भएको छ ।