रुकुमको चौरजहारी नगरपालिका-११, खोलागाउँ घर बताउने ८ मजदुर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, तरापू क्षेत्रबाट बिहीबार बिहान भोकै बेँसीसहर आए। कास्की भएर बाग्लुङ हुँदै ५ दिनमा रुकुम पुग्ने योजनाका साथ करिब २ घन्टा हिँडेर आएका उनीहरु बेँसीसहरको प्रशासन चोकमा रोकिए। प्रहरीले उनीहरुलाई अगाडि बढ्न दिएनन्। करिब ४ घन्टा प्रशासन चोकमै बिताए। पछि थप प्रहरी आएर फर्कन आग्रह गरे। उनीहरु त्यहाँबाट उठेर मर्स्याङ्दीतर्फ लागे।

एक महिनाअघि सिँचाइको काम गर्न आएकामध्ये टीकाराम विकले आफूहरुले बिहानदेखि खाना नखाएको बताए। एक महिनाअघि मात्रै आएका थियौं,’ उनले भने, ‘न काम गर्न पाइन्छ न गोजीमा पैसा छ। बरु पैदलै घर जाने भनेर हामी हिँड्यौं।’ घर जान हिँडेकामध्ये निर्मल विकका अनुसार गाउँकै एक जनाले काम गर्न बोलाएर उनीहरु आएका थिए। ती व्यक्ति सम्पर्कमा हाल सम्पर्कमा छैनन्। ‘लकडाउनमा सामान आएन। खुलेपछि सामान आउँछ र काम हुन्छ अनि पैसा पाइन्छ भनेर कुर्‍यौं। बरु लकडाउन थपियो। अहिले हामी भोकै भयौं।’

आफूहरुले २/४ दिनमात्रै काम गर्न पाएको सुजन विकले बताए। ‘रासन खाने पैसा सिद्धियो। गाउँपालिकाले एक बोरा चामल दिएको थियो। त्यो पनि सकियो। फेरि माग्दा छलफल गर्नुपर्छ भन्यो,’ उनले भने, ‘हामीसँग जम्मा हजार/१२ सय थियो। त्यही पैसाले चाउचाउ किनेर घर हिँडेका हौं।’ उनका अनुसार पोखराबाट हिँडेका साथीहरु ४ दिनमा गाउँ पुगे।

५० वर्षीय कालिबहान विक पनि सोही टोलीमा छन्। पेटभरि नखाई गाउँ जान हिँडेको उनको भनाइ छ। ‘खाना पनि नाइँ। गोजीमा पैसा पनि नाइँ,’ उनले भने, ‘काठमाडौंबाट हिँडेका २०/३० जना घर पुगिसके। हामी यता अलपत्र परेम्।’

रुकुम, सुर्खेत र सल्यानका १० जना राइनास नगरपालिकाको माथिल्लो क्षेत्रमा काम गर्छन्। उनीहरु तल्लो क्षेत्र राइनास नगरपालिका ६, धमिलिकुवा झरेका छन्। उक्त ठाउँमा थप ८ जना छन्। मर्स्याङदीबाट झरेका ८ जना गरी २६ जनाको टोली गाउँ जाने निधो गरी अघि बढेको रुकुम घर भई राइनास नगरपालिकामा खानेपानी बनाउन खटिएका भीमबहादुर विकले बताए। ‘नगरपालिकाले राहत दिएको त हो। सकिएर दोकानबाट ल्याएर पनि खाइयो। त्यो पनि सकियो,’ उनले भने।

डीएसपी रवीन्द्रमान गुरुङले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न सामूहिक र व्यक्तिगत रुपमा हिँड्न नदिइएको बताए। ‘यो बेला जो जहाँ भए पनि त्यही ठाउँमा बस्नुको विकल्प छैन। हामीले कामदारलाई ल्याएको निर्माण व्यवसायी र स्थानीय तहसँग समन्वय गरी मजदुरको व्यवस्थापन गर्न अनुरोध गरेका छौं,’ उनले भने।

बुधबार बेँसीसहर आएका १२ जना मजदुरलाई व्यवस्थापनमा सहयोग गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको डीएसफ गुरुङको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले आफ्नो सम्पर्कमा आएका मजदुरलाई व्यवस्थापनको लागि निर्माण व्यवसायी र स्थानीय तहलाई भनिएको बताए। ‘हामीले सुरुमा १५ सयभन्दा बढीलाई आ–आफ्नो गाउँठाउँ पुर्‍याउने व्यवस्था मिलायौं। अहिले अवस्था जटिल छ। पास दिइएको छैन। बरु जहाँ बसे पनि खानपिनको व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

रातारात १२ मजदुर तनहुँ पुगे
लमजुङ प्रशासनले कडाइ गरे पछि रातारात लुकेर १२ कामदार तनहुँ पुगेका छन्। घर जान रातारात हिँडेका उनीहरु बिहीबार बिहान प्रहरीको फन्दामा परेका हुन्। तनहुँ प्रहरीले उनीहरुलाई पृथ्वी राजमार्गको डुम्रे नजिकै सडकमा केही खाइरहेको भेटेपछि उद्धार गरेको हो। उनीहरुलाई दमौली लगिएको छ।

पोखराको बाटो हुँदै कैलाली हिँड्दै गरेका मजदुर तनहुँमा आएपछि प्रहरीले उनीहरुलाई दमौली ल्याएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए। उनीहरुलाई कसरी राख्न सकिन्छ भनेर छलफल गरिरहेको उनले जानकारी गराए। कान्तिपुर दैनिकमा खबर छ ।