काठमाडौं । सोमबार राति भक्तपुरको सल्लाघारीस्थित होल्डिङ सेन्टरबाट प्रदेश २ का लागि एउटा गाडी हिँड्यो । सप्तरी, सिराहा र सर्लाही घर भई वैदेशिक रोजगारीबाट फर्केका १४ जना यात्रु बोकेर बा ५ ख १९६५ नम्बरको सो गाडी (हाइस माइक्रो बस) होल्डिङ सेन्टरबाट १० बजे छुटेको थियो । सुरुमा अशोक राईले लिएर गएको गाडीलाई पछि झमक खड्का नामका चालकले हाँकेका थिए ।
काभ्रेको भकुन्डेबेँसी पुगेपछि राति साढे ११ बजे चालक खाजा खाने भन्दै एउटा होटलमा छिरे । चालक भित्र छिरेपछि सो हाइसमा सवार सबैजना कुरेर बसे । चालकले त्यहाँ खाजा मात्रै खाएनन्, गाडी चलाउनै नसक्नेगरी मदिरा समेत पिएर २ घण्टा बिताए । त्यतिबेलासम्म यात्रुहरु सडकमै चालकको प्रतिक्षामा गरेर कुरिरहे ।
दुई घण्टापछि ड्राइभर फिर्ता त भए, तर उनी आफैं सम्हालिनसक्ने अवस्थामा थिएनन् । उनले हाँक्न सुरु गरेको गाडी अनियन्त्रित भएपछि यात्रुहरु अत्ताल्लिए । यात्रुहरुले होहल्ला गर्न थालेपछि खड्काले गाडी त रोके तर उनी रातभर त्यतिकै सुतिदिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बिहान मात्रै यो थाहा पाएर अलपत्र परेका यात्रुहरुलाई उद्दार गरेको छ । सो गाडी प्रहरीले नै चलाएर सल्लाघारीको होल्डिङ सेन्टरमा फिर्ता गरिदिएको हो । जिल्ला प्रहरी कार्यालयका एसपी रबिराज खड्काले यात्रुहरु अलपत्र परेको थाहा पाएपछि प्रहरीले नै गाडी चलाएर बिहान होल्डिङ सेन्टरमा फिर्ता गरिदिएको जानकारी दिए ।
उनले ड्राइभरले आफूहरुलाई सञ्चो नभएका कारण अगाडी जान नसकेको बताएको एसपी खड्काले बताए । ‘ड्राइभरले सञ्चो छैन, गाडी चलाउन सक्दिन भनेपछि आफैंले पुर्याइदिएका हौं’ उनले भने ।
होल्डिङ सेन्टरमा यात्रु फर्किएपछि गाडी र चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुहरु भने वैकल्पिक गाडीको व्यवस्थापन गरेर बिहान १० बजे फेरि गएका छन् । एउटा ड्राइभरको लापरबाहीले विदेशबाट फर्किएका कामदारहरुले रातभर दुःख पाएका छन् ।
अहिले विदेशबाट आएकाहरुलाई विभिन्न प्रदेशको होल्डिङ सेन्टरबाट सम्बन्धित जिल्ला पुर्याउने गरिएको छ । प्रदेश १ र प्रदेश २ का लागि सल्लाघारीमा, प्रदेश ३ का लागि बसुन्धारामा, गण्डकी प्रदेश र प्रदेश ५ का लागि धुम्बाराहीमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि बालकुमारीमा त्यस्तो होल्डिङ सेन्टर निर्माण गरिएको छ । रातो पाटि बाट साभार गरिएको