काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले दोलखाको चरिकोटमा रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा आर्थिक हिनामिना तथा गैरकानुनी लेनदेन नभएको निष्कर्ष निकालेको छ ।
नेफ्स्कूनले बुधबार छानविन प्रतिवेदन सार्वजनिक गर्दै संस्थामा ‘कुनै प्रकारको आर्थिक हिनामिना, गैरकानुनी लेनदेन र बदनियतपूर्ण कार्य नभएको’ दावी गरेको हो ।
गत कात्तिक २२ गते एक अनलाईन पत्रिकाले मिलीजुली कालिञ्चोक साकोसले मोटो रकम लिएर विना धितो ऋण लगानी गरेको, एशियाली ऋण महासंघ (अकु) ले संचालन गरेको एक्सेस ब्राण्ड लिन नेफ्स्कूनसंग आर्थिक लेनदेन गरेको, नेफ्स्कूनले प्रदान गरेको उत्कृष्ट व्यवस्थापकको पुरस्कार लिन आर्थिक लेनदेन गरेको उल्ल्लेख गर्दै समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि नेफ्स्कूनले वरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत दिपक अर्याललाई स्थलगत अनुसन्धानका लागि संस्थामा पठाएको थियो । अधिकृतद्वयले कात्तिक २५ गते देखि २८ गते सम्म अध्ययन गरेर तयार पारेको प्रतिवेदन आज नेफ्स्कूनले सार्वजनिक गरेको हो ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा कात्तिक २५ गते संस्थाको सफ्टवेरमा भएका १० जना ठूला ऋणीको ऋणको फाईल जाँच गर्दा ‘आर्थिक अपचलन नभएको वा लेनदेन र प्रतिनिधिमूलक ९प्रोक्सी० ऋणहरु नरहेको’ पाएको उल्ललेख छ ।
यसैगरी संस्थाले खरिद गरेको सवारी साधन लगबुक कायम गरी प्रयोग गरेको, संस्थाको कार्यालय भवन निर्माणको काम चलिरहेको तथा निर्माण प्रकृयामा कुनै प्रकारको आर्थिक लेनदेन नभएको, संस्थाको कोष नियम अनुसार चलेको र कुनै पनि गैर कानुनी कोषहरु नरहेको जनाएको छ ।
यस्तै संघले संस्था एकीकरण गर्दा कुनै व्यक्ति वा संस्थासंग कुनै प्रकारको गैर कानुनी लेनदेन र सौदावाजी गरेको प्रमाण नभेटेको र उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गर्दा पनि कुनै प्रकारका आर्थिक लेनदेन भएको नदेखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।