काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आह्वानमा भएको आम हड्तालको विवेकशील साझा पार्टीले विरोध गरेको छ ।
नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै साझा पार्टीले विरोध जनाएको हो । पार्टीको अभियान विभागले बन्द हडतालको संस्कार विरुद्ध प्रदर्शन गरेको हो । विवेकशील साझा पार्टीले विगत १० वर्षदेखि कुनै पनि पार्टीले बन्दको आवहान गर्दा बन्दको विरोध गर्दै आएको छ।
विवेकशील साझाका अभियन्ताहरूले बन्दले देश बन्दैन, नेपाल खुल्ला छ, गरी खान देऊ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
प्रदर्शन पार्टी संयोजक मिलन पाण्डे लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
नागरिकको स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने अधिकार र आम जनजीवन प्रतिकुल हुने गरी आह्वान हुने बन्दहड्तालका अलोकतान्त्रिक अराजक कार्यक्रमहरूको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले बताए।
सरकारको असंवैधानिक कदमहरूको विपक्षमा विवेकशील साझा पहिलो दिनदेखि सडकमा आए पनि प्रदर्शन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै आएको छ ।