जर्मनीमा प्रहरीले अर्बौं रुपैयाँ बराबरको साइबर खजाना हात पारेको छ ।
यति धेरै रकम पाए पनि प्रहरी र कानून एजेन्सीहरूले एक पैसा पनि खर्च गर्न पाएका छैनन् ।
यसलाई अनलक गर्नका लागि प्रहरीसँग पासवर्ड छैन । साइबर क्रिमिनलले यसको पासवर्ड प्रहरीलाई बताउन मानेको छैन ।
उक्त साइबर अपराधीसँग ५० मिलियन युरो बरामद गरिएको हो । त्यसको नेपाली मूल्य लगभग सात अर्ब रुपैयाँ पर्छ ।
बिटकोइन भर्चुअल मुद्रा हो । यसलाई न हेर्न सकिन्छ, न छुन सकिन्छ । तर यसको कारोबार हुन्छ ।
यसलाई डिजिटल वालेटका रूपमा स्टोर गरिन्छ र पासवर्डमार्फत मात्र खोल्न सकिन्छ । पासवर्ड बिर्सिइयो वा हरायो भने यसको उपयोग गर्नै सकिन्न ।
बिटकोइन पासवर्डको जानकारी भएको मानिसलाई साइबर अपराधका लागि दुई वर्षको कारावास सजाय दिइएको छ । प्रहरीले उससँग १७ सय बिटकोइन जफत गरेको छ । प्रहरीले अनलक गर्न धेरै कोशिश गरेको भए पनि सफल हुन सकेको छैन ।
दोषीलाई पासवर्डका बारेमा सोध्दा उसले चुँक्क पनि बोलेको छैन ।
यस व्यक्तिले अर्काको कम्प्युटरमा विशेष सफ्टवेयर लगाएर बिटकोइन चोरी गरेको आरोप छ ।
ऊ जेल जाँदा बिटकोइनको मूल्य खासै थिएन । तर अहिले यसको मूल्य बढेको छ । उसले पासवर्ड नबताए पनि पछि बिटकोइनको उपयोग गर्नै नसकोस् भनी कानूनी निकायहरूले कोशिश गरेका छन् ।