काठमाडौँ । संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
सभामुखले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उनीहरूले संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई काम गर्नबाट रोक्न माग गरेका थिए ।
सभामुख सापकोटा गत शुक्रबार रिट निवेदन लिएर आफै सर्वोच्च गएका थिए ।
संवैधानिक परिषद्ले मंसिर ३० गते विभिन्न आयोगहरूमा ३८ जनालाई नियुक्त गरेकोमा ३२ जनालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत बुधबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराएका थिए ।