बैतडीमा विद्यालयबाट घर फर्कदै गर्दा यही माघ २१ गते भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनाप्रति निन्दा गर्दै बालअधिकार र मानवअधिकारसँग सम्बन्धित संस्थाहरुले दोषीलाई कारवाहीको माग गरेका छन् । बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान (सिजप) लगायत सञ्जालले ‘यस्ता मानवताविरोधी जघन्य अपराधहरु निरन्तर हुनु सभ्य र सुसंस्कृत समाज निर्माणका लागि गम्भीर चुनौती भएको जनाएका ह्न् । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले तीनै तहका सरकारबाट मानवताविरोधी जघन्य अपराधहरु हुन नदिन सचेतना र जागरण अभियान सञ्चालन गर्न र उक्त कार्यमा लगानी बढाउन सरकारलाई आग्रह गर्नुभयो । घटनाको अनुगमन गर्न र पीडितलाई न्याय दिन पहल गर्र्नुपर्ने अपिल गर्दै आज विभिन्न संस्थाले विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा ऐक्यबद्धता जनाउनेहरुमा महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), बालसहभागिताका लागि कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल), राष्ट्रिय बालसंरक्षण सञ्जाल, बालअधिकार समिति, मानव अधिकार सन्धि अनुगमन केन्द्र, बालअधिकारवादी सहकर्मी संस्थाहरुको राष्ट्रिय मञ्च, बालगृह सञ्जाल नेपाल (सिनेट नेपाल), लगायतका संघसंस्था छन् ।