एक पुलिसकाे सिपाहीकाे एक नगरबधूसँग रेड हान्ने क्रममा जम्काभेट हुन्छ। पहिलाे नजरमै सिपाहीलाई नगरबधुसँग माया बस्छ, लव एट फर्स्ट साइट’ भन्छन् नि, हाे त्यही हुन्छ। सिपाही नगरबधूलाई पक्राऊ पर्नबाट बचाउँछ तर नगरबधू त नगरबधू हुन्, अर्काेदिन फेरि अाफ्नाे ‘धन्दा’मा बस्छिन्। उनले त अाफ्ना गाहाकीहरुलाई रिझाउनुपर्ने हुन्छ। अाखिर उनकाे काम त्यही त हाे तर याे देखेर सिपाहीकाे मुटु पाेल्छ, ऊ अाहत हुन्छ, क्राेधित हुन्छ र अाफ्नाे क्राेध नगरबधूमाथि पाेख्छ। नरबधू बुझ्न सक्दिनन् कि ‘याे अाखिर के भईरहेछ?’ उनी सिपाहीलाई प्रश्न गर्छिन्, ‘के नाताले सिपाही उनीमाथि अधिकार जमाउन खाेज्दैछ? के ऊ उनकाे ‘मरद’ (लाेग्ने) हाे र?’
अाज सन् 1939 (82 बर्ष अघि) बनेकाे फिल्म सिफारिस गर्दैछु। फिल्मकाे नाम हाे, ‘अादमी’। याे एक सिपाही र नगरबधूकाे प्रेम कथा हाे। प्रचलित भाषामा भन्नुपर्दा, ‘अनयुजल लव स्टाेरी’। यसकाे कथानकले साँच्चै नै बाँधेर राख्छ। यसका संवाद, अभिनय र भावप्रवाहले साँच्चिकै मन छुन्छ। यसमा मुख्य चरित्र निर्वाह गर्ने कलाकारहरु साहु माेदक (सिपाही) र शान्ता हुब्लिकर (नगरबधू) काे अभिनय मन जित्छ। खासगरि, नायिका शान्ताकाे भावभंगिमा, संवाद संप्रेषण र माैलिक अभिनयशैलीले तपाईकाे नजर एकपलकाे लागि पनि उनीबाट हट्न दिदैन। उनकाे चरित्र हेरिरहन्दा मुटु निचाेरिएर अाउँछ। याे फिल्मलाई पुरै हेरिसक्दा उनीसँग माया बसिसक्छ।
के तपाईं पत्याउनुहुन्छ, त्यसबेला फिल्ममा महिला/नायिकाकाे चरित्र बढी सशक्त र महत्वपूर्ण हुने गर्थे। शान्तारामकै ‘दुनियाँ ना माने’ (1937), यही फिल्म ‘अादमी’ (1939), महबुब खानकाे ‘अाैरत’ (1940) अादि यसका केही उदाहरण हुन्। सिपाही र नगरबधूका अतिरिक्त नगरबधूले भाई मानेकी सानाे केटाकाे चरित्र पनि मनछुने छ।
‘अादमी’काे निर्दैशन वनकुन्द्रे शान्ताराम (वी.शान्ताराम) ले गरेका थिए। शान्ताराम अाफ्नाे समयका एक प्रसिद्ध फिल्ममेकर थिए र सामाजिक यथार्थवादकाे धरातलमा अाधारित फिल्महरु बनाउने गर्थे। उनका अन्य फिल्महरु पनि दर्शनीय छन्। ‘अादमी’ लाई हिन्दी र मराठी गरि दुई भाषामा बनाइएकाे थियाे।
शान्तारामले याे फिल्म प्रमथेश चन्द्र बरुअा काे फिल्म ‘देवदास’ काे प्रतिवाद गर्न बनाएका थिए किनभने उनी देवदासकाे ‘प्रेममा प्राण त्याग्ने’ फिलाेसाेफीसँग सहमत थिएनन्। याे फिल्म मार्फत् शान्तारामले दिएकाे सन्देश सिधा छ, ‘प्रेमकाे लागि दुनियाँ नछाेड्नु’। 82 बर्षअघि निर्माण भएकाे याे फिल्म अझै पनि हेर्दा प्रासंगिक लाग्छ।
फिल्मकाे संगीत यसकाे अर्काे सुन्दर पक्ष हाे। फिल्मकाे हिन्दी संस्करणमा नाैवटा गीत छन्, जसमध्ये नायिका शान्तामाथि छायाँकन गरिएका सबै गीत उनैले गाएकी हुन्। फिल्मकाे एउटा गीत त उनले भारतमा बाेलिने ६ वटा भाषामा गाएकी छिन्। सबै गीत कर्णप्रिय छन्।
फिल्मकाे लिंक:- https://youtu.be/9-xhAtRe6sw