नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले छिटै करिब ३० मिलियन डलरकाे बण्ड ल्याउने भएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अन्तरकृया कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त जानकारी गराएका हुन्।
‘डलर बण्ड निष्काशनको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाईसकेका छाैँ। हामीले चालु आर्थिक वर्ष भित्रै बण्ड निष्काशन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने।
उनका अनुसार २५ देखि ३० मिलियनको डलर बण्ड हुनेछ। उक्त बण्डको अवधि ३ देखि ५ वर्षको हुने उनले जानकारी गराए।
चालु आर्थिक वर्ष भित्रै लन्डन स्टक एक्सचेञ्जमा बैंकको डलर बण्ड सूचीकृत हुने गरी तयारी भइरहेको उनले जानकारी गराए। बैंकको डलर बण्डमा ८.५ प्रतिशतको हाराहारीमा ब्याज पाउनेछ।
लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट रेटिङ्ग’ गरि बण्ड जारी हुने पनि उनले जानकारी दिए। पाँच वर्षे अवधिको सो बण्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए।
उनले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको जानकारी दिए। ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे। ‘यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’ खतिवडाले भने।
उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए।
निफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बण्ड जारी गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरुले त्यस्तो बण्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरि बण्ड तयार गरिएको छ।
त्यस्तै, इन्स्योरेन्स बण्डका बारेमा पनि छलफल अघि बढाएको छ। इन्स्याेरेन्स कम्पनीहरुले त्यस्तो बण्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइने बताइएकाे छ। विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बण्ड केन्द्रित हुने उनले बताए।