झापा, १२ जेठ । झापामा सहकारी अस्पताल निर्माण हुने भएको छ । झापा जिल्ला सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालन गर्ने जनाइएको छ । अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अवलम्बन गर्ने भने पनि थप छलफल र परामर्श पछि अघि बढ्न जिल्ला संघ लागि पर्ने भएको छ ।
संघले बुधबार भर्चुअल माध्यमबाट सरोकारवालासँगको छलफलमा संघका अध्यक्ष गणेश ढकालले अवधारणा पत्र प्रस्तुत गरेका छन् । १ अर्वको लगानीमा चार वर्ष भित्र अस्पताल सञ्चालनमा ल्याउने संघले जनाएको छ । ४० देखि ५० करोडबाट काम प्रारम्भ गरिने अस्पताल निर्माणका लागि १० बिघा जग्गा प्राप्त हुने दाताबाट आश्वासन आएको छलफलमा बताइयो । राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी संघले पनि अस्पताल स्थापनामा सहयोग रहने आश्वासन दिएको अध्यक्ष ढकालले जानकारी गराएका छन् ।
जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव भवानीप्रसाद दंगालले गरेका थिए । अस्पताल स्थापना गर्नै पर्नेमा जोड दिएका सहभागीले आआफ्नो तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् । कानुनी जटिलता र नेतृत्वको विषयमा स्पष्ट हुन चाहेका सहभागीले जिल्ला संघले कोरोना महामारी र सामाजिक क्षेत्रमा विगतदेखी गर्दै आएको कामको मुक्तकण्ठले प्रशंसा गरिएको छ । पहिलो चरणको कोरोनाका बेला गतवर्ष विभिन्न शीर्षकमा ४ करोड बढी खर्च गरेको झापाली सहकारी क्षेत्रले यस वर्ष उपलब्धि मुलुक र दीर्घकालीन काम गर्ने योजना अनुसार अस्पताल निर्माण गर्ने योजना अघि सारेर छलफल चलाएको हो । बाजार दैनिक बाट