संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् ।
उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ ।
यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उहाँको जोड छ । विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो ।
यो कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए ।
बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो ।
उनले सो ट्वीटमा भनेका छन्– अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ उनले भनेका छन् ।
महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन् ।
उनले यस्तो विश्वव्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकोले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय हो भनेका छन् ।
उनले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताएका छन्।
उनले यो प्रयासका लागि विश्वका नेताहरुलाई धन्यवाद पनि दिनुभएको छ । विश्वव्यापी रुपमा फैलिएको यो कोविड १९ को महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैलाई आह्वान गरेका छन्।
यसैबीच कोरोनाभाइरसका विरुद्ध खोप निर्माण गरेर पहिलो पटक परीक्षण गरिएको समाचारमा जनाइएको छ । यस खोपको अध्ययनको लागि चयन गरिएका ८०० भन्दा बढी स्वयंसेवकमध्ये दुई जनाबाट त्यसको शुरुवात गरिएको बताइएको थियो ।
गएको तीन महिनाभित्रै यो खोप अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको बताइएको छ । सो अनुसन्धान टोलीको प्रमुखका रुपमा जेनर इन्स्चिच्युटका खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि–क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेर सो खोपको परीक्षणका लागि सार्वजनिक गरेको बताइएको छ ।
उक्त खोप दिनका लागि स्वयंसेवकहरु छनोट गरिएको र आधाजसोलाई यो कोविड १९ को खोप दिइने बताइएको छ । तीमध्येका आधालाई यसको नभएर मेनिन्जाइटिस्को खोप दिइने बताइएको छ ।
उनीहरुलेमध्येका आधाजति स्वयमसेवकहरूले आफूले कुन खोप लगाएको हो भन्ने बारेमा पनि थाहा नपाउने गरी यसको परीक्षण थालिएको चिकित्सकहरुले जनाएका छन् ।