नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने अवधि असार मसान्तसम्म थप गर्न माग गरेको छ। महासँघले मंगलबार राजस्व सचिवलाई पत्र लेख्दै संघले उक्त आग्रह गरेको हो। महासंघले देशभरका प्रतिनिधि संस्था र जिम्मेवार पधादिकारीबाट कर विवरण र कर रकम हाल बुझाउन असमर्थ रहेको बताउदै आएकाले आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्कको विवरण र कर बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गर्न माग गरेको हो।
अहिले लकडाउनका कारण अत्यावश्यक बाहेक अन्य सबै प्रकारका उद्योगहरु बन्द रहेको अवस्था छ। अहिले आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायतका आपुर्ति प्रणाली समेत कठिन अवस्थाबाट गुज्रिरहेको महासंघको भनाइ छ।
यस्तो अवस्थामा व्यवसायीहरु कर तिर्न असमर्थ रहेको भन्दै सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवम् व्यवसायीक वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।
आन्तरिक राजस्व विभागले मंगलबार नै एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर विवरण र कर रकम बुझाउन भनेको थियो।