विद्यानन्द राम / सप्तरी । प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ । केही दिनअघि वैदेशिक रोजगारबाट आएर बोदे बरसाईन नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ६ जनालाई गत राति प्रहरीले निर्घात कुटपिट गरेको थियो ।
कुटिएका व्यक्तिहरुको बुधवार आएको पीसीआर परीक्षण रिपोर्टमा २ जनामा संक्रमण देखिएको बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहले जानकारी दिनुभयो । क्वारेन्टाइन कक्ष सञ्चालनमा रहेको चन्द्रा नमूना माध्यमिक विद्यालयको गेड अगाडि बसिरहेका संक्रमित २ जनासहित बोदे बरसाइन नगरपालिका ९ का ३५ वर्षीय दिलिप यादव, वडा नम्वर १० का ३४ वर्षीय देवानन्द साह, सोही वडाका ३० वर्षीय रामानन्द साह र वडा नम्वर ७ का गजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटिएका प्रहरी जवान घनश्याम थापा मगर र छविलाल बम्जनले कुटपिट गरेको हो ।
घटनापछि कुटपिटमा संलग्न प्रहरी जवान थापा मगर र बम्जनलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले केही घण्टा बोदे बरसाईनकै थुनामा राखेर राति नै कडरबोनाको थुनामा ल्याइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो ।
‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु बजारतिर हिडडुल गरिरहेको अवस्थामा देखिएपछि बुझाउन खोज्दा प्रहरीलाई नै अपशब्द प्रयोग गरेकाले वल प्रयोग गरेको बुझियो, त्यसैले दुवै जनालाई थुनामा राखेर कारवाही प्रक्रिया अघि बढ्यौं’ उहाँले भन्नुभयो–‘कुपिटएका व्यक्तिहरुमध्ये दुई जनामा संक्रमण पुष्टि भएको थाहा पाएपछि दुवै जना प्रहरी जवानलाई क्वारेन्टाइनमा राखेर आवश्यक कुरा मिलाइरहेका छौं ।’
-source:khabarpati