असार ३१, काठमाडौं | कालिकोटमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेमा वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।
शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भन्ने उजुरीको आधारमा पक्राउ गरेको हो ।
शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यद्यपी वडा अध्यक्षले भने आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् । सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले किशोरी आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको भन्दै आफूलाई फसाउन खोजिएको बताएका छन् ।
पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो । पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई घरभित्र लगेर बलात्कार गरे ।’
उनले भनिन्, ‘विद्यालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भने मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’
त्यसपछि आफूलाई पटक–पटक बलात्कार गरेको किशोरीको भनाइ छ ।