झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको एकीकरणपछिको दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरूको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गत वर्ष चैत १४ गते तुलाराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो । सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष न्यौपानेले आगामी चार वर्षे कार्यकालमा संस्थालाई थप सवल, सक्षम र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सहकारी अभियानलाई नयाँ उचाइमा पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने र अन्य सहकारीहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष नारायण भट्टराईले विगतका सरकारले सहकारी क्षेत्रलाई पर्याप्त रूपमा नबुझेको उल्लेख गर्दै वर्तमान सरकारले केही हदसम्म बुझ्ने प्रयास गरेको देखिए पनि यसको परिणाम कस्तो आउँछ भन्नेमा अझै अन्योल रहेको धारणा राख्नुभयो ।

उहाँले देशभरका केही सहकारी सफल हुँदैमा समग्र सहकारी आन्दोलन सफल भएको ठान्न नहुने बताउँदै आगामी दिनमा सहकारी क्षेत्रमा थप चुनौती आउन सक्ने संकेत गर्दै सबैलाई सचेत रहन आग्रहपनि गर्नुभयो ।

कार्यक्रमका अवसरमा संस्थाका पूर्व पदाधिकारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

साथै, निर्वाचन समिति संयोजक अधिवक्ता देवेन्द्र भण्डारीले नवनिर्वाचित सञ्चालक समितिलाई सपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।