ढाका । दक्षिण एसियाली मुलुक बंगलादेशका २५१ चिकित्सकलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।

बंगलादेश डक्टर्स फाउन्डेसन (बीडीएफ) का अनुसार बिहाबारसम्म बंगलादेशमा २५१ चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बंगलादेश सरकारले कोरोनाविरुद्ध लड्न अग्रमोर्चामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको र उनीहरुलाई संक्रमण मुक्त गराउन स्वास्थ्य सुविधा उपलब्ध गराइरहेको बताएको थियो । तर, बीडीएफले भने पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभावका कारण चिकित्सकहरु कोरोना संक्रमणको जोखिममा परेको आरोप लगाएको छ ।

राजधानी ढाकामात्रै करिब दुई सय चिकित्सकलाई कोरोना संक्रमण भएको बताइएको छ । बंगलादेशमा हालसम्म तीन हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने २५१ जनाको मृत्यु भएको छ ।

अन्य मुलुकमाजस्तै बंगलादेशले पीपीई अभावको समस्या झेलिरहेको छ । भर्खरै बीआरएसी विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार २५ प्रतिशत चिकित्सक र नर्स र ६० प्रतिशत अन्य स्वास्थ्यकर्मीहरुले पीपीई पाएका छैनन् । – अलजजिरा