काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २१६ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा पुरुष २०७ र महिला ९ गरेर २१६ जना डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जितेर घर फर्किनेको संख्या भने १४ सय २ पुगेको छ।

त्यसैगरी शुक्रबार मात्र ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको छ। ७७ जिल्लामध्ये कोरोना संक्रमण ७४ जिल्लामा फैलिएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। २२ जनाले भने काेराेनाकै कारण ज्यान गुमाएका छन् ।