काठमाडौं, । बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्षेनी ५ सय ४० भन्दा बढी प्राकृतिक प्रकोपका घटनाहरु घट्छन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ ।
विज्ञहरुले अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने सुझाउँदै आएका छन् । आखिर चट्याङ के हो ? किन पर्छ ? र, यसबाट जोगिने सरल उपाय के हो ? बिहीबार सप्तरीमा चट्याङ लागेर चार जनाले ज्यान गुमाए ।
वर्षासँगै परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । त्यसैगरि मकवानपुरको बकैयामा पनि चट्याङले २ जनाको ज्यान गयो । अन्य स्थानमा पनि हरेक वर्ष चट्याङले पु¥याएको क्षतिबारे हामीले पढ्दै र सुन्दै आएका छौँ ।
चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । विसं २०६८ देखि २०७५ सम्म गरिएको एक अध्ययन अनुसार नेपालमा हरेक वर्ष चट्याङकै कारण कम्तिमा एक सय १० जनाले ज्यान गुमाउँदै आएका छन् ।
आखिर चट्याङ के हो ? विज्ञहरुका अनुसार बादल ठोक्किएर मेघगर्जनको आवाज आउँछ । त्यसको विद्युतीय प्रवाह जमिनमा पर्छ, त्यही नै चट्याङ हो । जुन प्रक्रियामा विद्युतको उच्च भोल्टको प्रवाह हुन्छ र त्यो जसमा पर्छ, नष्ट हुने अत्यधिक सम्भावना हुन्छ ।
चट्याङ विद डा. श्रीराम शर्मा अनुसार नेपालमा झापाको दक्षिणपूर्व क्षेत्रदेखि नवलपरासीको चुरे क्षेत्रमा अत्यधिक चट्याङ पर्छ । चुरे क्षेत्रपछि रसुवा र नुवाकोटको त्रिशुली नदी आसपासको भूगोलदेखि नारायणी नदीको छेउ नवलपरासी–रुपन्देहीसम्म चट्याङको जोखिम क्षेत्र हुन् ।
चुरेपछि त्रिशुली नदी आसपासको क्षेत्रलाई पनि चट्याङको हिसाबले जोखिमयुक्त मानिने चट्याङविद् डा. श्रीराम शर्माका भनाइ छ ।
जोगिने उपाय
चट्याङप्रतिरोधी घर निर्माण गर्ने अर्थात घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्नु पर्छ ।
चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत लाग्नु हुदैन । धातुको तारबार नजिक, समथर र खुला ठाउँमा नबस्ने पनि चट्याङबाट बच्ने उपाय हुन् ।
भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहनु पर्छ भने चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्नु उचित मानिन्छ । छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जानु पर्छ र गाडीभित्र भए गाडीभित्रै बस्न सुरक्षित मानिन्छ ।
चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ । अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’ मध्ये नेपाललाई एक मानेको छ ।
चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएको छ ।
त्यसैले चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ ।