प्रहरीले काठमाडौंका विभिन्न स्थानमा हराएका तथा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा हराएका तथा चोरी भएका २० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो। प्रहरीले यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी धनीको पहिचान गरी मोटरसाइकल बुझाएको हो।
त्यस्तै मोटरसाइकल भेटिए पनि चोरी गर्ने व्यक्तिहरू भने फेला परेका छैनन्।
‘प्राय मोटरसाइकल ट्राफिक जाँच गर्ने क्रममा भेटिएका हुन्,’परिसरका प्रमुख तथा एसएसपी श्याम ज्ञवालीले भने,’मोटरसाइकलका कागजातहरू नहुने र भोलि लिएर आउँछु भनेपछि छाडिएको हुनाले उनीहरू चोर नै थिए कि थिएनन् भन्ने पहिचान हुन सकेन।’
चोरी तथा हराएका मोटरसाइकल प्रायजसो पार्किङ गर्ने स्थानबाट नै हुने गरेको एसएसपी ज्ञवालीले बताए। ‘धेरैजसो रिङरोड बाहिरका स्थान, अस्पतालका पार्किङ, सार्वजनिक स्थानहरूबाट हराएका घटनाहरू छन्,’एसएसपी ज्ञवालीले भने।