काठमाडौं । कोरोना महामारीको बेला कुहिएको दाल र गुणस्तरहीन चामल राहत बितरण गरेको भनी विवादमा परेको कलैया उपमहानगरपालिकाले औषधि खरिदमा पनि अनियमितता गरेको फेलापरेको छ । कलैया उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत सबैभन्दा बढी रकम कबोल गरेको फर्मबाट औषधि खरिद गरेको खुलासा भएको छ ।
२० लाखको औषधि खरिद ठेक्कामा ६ लाख कमिसन लिएर चौथो तथा सबैभन्दा बढी रकम कबोल गरेको फर्मबाट औषधि खरिद गरिएको हो ।
कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासे, स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल, लेखाअधिकृत दिव्य सर्राफले पहिलो र दोस्रो नम्बरमा रहेको फर्मबाट औषधि खरिद नगराई अन्तिममा रहेको फर्मबाट ४० प्रतिशत कमिसन लिएर औषधि खरिद गराएर पदको दुरुपयोग गरेका छन् ।
निःशुल्क बितरण गर्नका लागि २० लाख रकमको औषधि खरिद गर्नुपर्ने र तोकिएको औषधि सकले दिने भनी कलैया उपमहानगरपालिकाले २०७६ असोज २९ गते सूचना प्रकाशित गरिएको थियो ।
सूचना प्रकाशित गरिए पछि हेटौंडा ४ को यूनिक फर्माले शिलबन्दी बोलपत्रमा पहिलो नम्बरमा सबभन्दा कम १० लाखको हाराहारीमा औषधि दिने प्रतिबद्धता गरेको थियो ।
दोस्रो नम्बरमा हेटौंडाकै आचार्य फर्मास्टिकल्सले १३ लाखको हाराहारीमा औषधि दिने शिलबन्दी बोलपत्रमा प्रतिबद्धता गरेको थियो ।
तेस्रो नम्बरमा रहेको हेटांैडाको सागरदेवी फर्माले १६ लाख र साह मेडिकल हलले १९ लाख ५० हजारको हाराहरीमा औषधि दिने शिलबन्दी बोलपत्रमा प्रतिबद्धता गरेको कलैया उपमहानगरपालिका एक अधिकृतले बताएका छन् ।
शिलबन्दी बोलपत्रमा सबैभन्दा कम रकममा औषधि दिने युनिक फर्माको बोलपत्र स्वीकृत गरिएको र सात दिनभित्रमा कार्यालयमा सम्पर्क गरेर सम्झौता गर्न भनी २०७६ मंसिर २० गते कलैया उपमहानगरपालिकाले युनिकलाई जानकारी गराएको थियो ।
पहिलो नम्बरमा रहेको युनिक फर्माले नै औषधि खरिदको ठेक्का पाएको भनी दोस्रो नम्बरमा रहेको आचार्य फार्मास्टिकल्सलाई बैंक धरौटी फिर्ता लैजान ताकेता गरेर उसको बैंक धरौटी फिर्ता गराई चौथो नम्बरको १९ लाख ५० हजार कबोल गरेको साह मेडिकल हलबाट औषधि खरिद गरी कलैया उपमहानगरपालिकाले ९ लाख रकम अनियमितता गरेको ती कर्मचारीले खुलासा गरेका छन् ।
नियम अनुसार पहिलो नम्बरमा भएको फर्मले सम्झौता गर्न नआएमा त्यसको बैंक धरौटी जफत गरेर दोस्रो नम्बरमा रहेको आचार्यसँग ठेक्का सम्झौता गरेर औषधि खरिद गर्नुपर्ने हुन्छ तर हेटौंडाका साह मेडिकलका सञ्चालक कमलेश्वर साहसँग ६ लाख कमिशन लिएर औषधि खरिद गरिएको स्रोतले बताएको छ ।
कमलेश्वर साहले औषधि खरिद गर्नको लागि शुरुमै प्रशासकीय अधिकृत बेल्वासे र स्वास्थ्य शाखाका अजय जैसवालसँग सेटिङ मिलाएर युनिक फर्मा, सागरदेवी फर्मा र साह मेडिकल हलको गरी तीनवटा शिलबन्दी बोलपत्र फारम भरेको ती कर्मचारीले बताए ।
पहिलो नम्बरमा रहको युनिक फर्माबाट औषधि खरिद गर्दा कमिसन नपाउने भएपछि दोस्रो नम्बरमा रहेको आचार्यलाई ठेक्का प्रक्रियाबाट हटाउनका लागि युनिकलाई ठेक्का दिने भनी दबाब दिएर आचार्यको बैक धरौटी फिर्ता गराएर कमिसनको खेल शुरु गरिएको थियो ।
पहिलो र दोस्रोमा रहेको कम्पनीलाई औषधि गरिद गर्न नदिए पनि तेस्रो नम्बरमा लगभग १६ लाखमा औषधि दिने शिलबन्दी बोलपत्रमा प्रतिबद्धता गरेका सागरदेवी फर्माबाट समेत लिइएन । सागरदेवीसँग लिंदा कम कमिसन आउने भएकाले ६ लाख कमिशन असुलेर अन्तिममा सबैभन्दा बढी रकम कबोल गरेको साह मेडिकल हलबाट नियम बिपरीत औषधि खरद गरिएको छ ।
औषधि खरिदमा पहिलो नम्बरको कम्पनीले नपाएमा दोस्रो नम्बरको आचार्य फर्मास्टिकल्सलाई दिनुपर्नेमा उसलाई धरौटी झिक्न लगाएर चौथो नम्बरकोलाई दिएर अनियमितता गरेकोबारेमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले भने–‘खै एक बर्षअगाडि भएको खरिदको मलाई डिटेल्स जानकारी भएन, बेल्बासे प्रशासकीय अधिकृत हुनुहुन्थ्यो, उहाँले कसरी खरिद गर्नुभयो, हेर्नुपर्छ ।’
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय जैसवालले चौथो नम्बरकोलाई दिएको होइन, दोस्रोले नै पाएको होला भन्ने जवाफ दिएका छन् ।
कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखाले औषधि लगायतका अधिकांश मेडिकल सामग्रीहरु सागरदेवी फर्मा, साह मेडिकल हल र युनिक फर्माबाटै सेटिङ मिलाएर खरिद गर्ने गरेको छ । कमिसनमा सेटिङ भएका यी तीनवटै फर्माबाट अहिलेसम्म औषधि लगायतका मेडिकल सामान खरिद हुँदैआएको छ ।
स्रोतःnepalface.com