काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबारसम्म देशभर वर्षा हुने भएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको हो ।
मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ भएको तर यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान रहेको छ । अहिलेको अवस्थालाई हेर्दा यो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।