गोरखा  : गोरखाका एक नगरपालिका र तीनवटा गाउँपालिकाले स्थानीयस्तरको पाठ्यक्रम तयार गरेका छन्। पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन र धार्चे गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन्।

आफ्नो क्षेत्रका प्रसिद्ध स्थल, व्यक्तित्व, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक सम्पदा पाठ्यक्रममा समेटिएको छ। आर्थिक, सामाजिक अवस्थाको संरक्षण, प्रचारप्रसार गर्ने उद्देश्यले पाठ्यक्रम बनाइएको स्थानीय निकायका पदाधिकारी बताउँछन्। पालुङटार नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रम तयार गरिसकेको छ।
कक्षा १ र कक्षा ६ को पाठ्यपुस्तकसमेत निर्माण गरेको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले जानकारी दिए। ‘गत वर्षको मंसिरबाट पाठ्यक्रम निर्माण सुरु गरेका हौं’, उनले भने। आगामी शैक्षिक सत्रबाट पूर्ण रूपमा पाठ्यक्रम कार्यान्वयन हुने उनले बताए।

पाठ्यक्रममा लिगलिगकोटको इतिहास, पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थल, स्थानीय कला तथा संस्कृति, आर्थिक गतिविधि समेटिएको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए। सामाजिक रीतिरिवाज, स्थानीय उत्पादन, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्व, जडीबुटी, खोलानाला पनि समावेश गरिएको उनले बताए।
सिरानचोक गाउँपालिकाले पनि पाठ्यक्रम तयार गरिसकेको छ। कार्यपालिकाको बैठकले पाठ्यक्रम अनुमोदन गर्ने शिक्षा शाखाका ज्ञानेन्द्र पोखरेलले जानकारी दिए। ‘कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यक्रम तयार भइसकेको छ। अब हुने कार्यपालिकाको बैठकमा यसको अनुमोदन हुनेछ’, उनले भने, ‘यही शैक्षिक सत्रदेखि कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम लागू गर्नेबारे छलफल भएको छ।’

सिरानचोकगढी, राष्ट्रिय विभूति अमरसिंह थापा, झागल गुरुङ, नेपाली सेनाको पहिलो गण श्रीनाथ गण स्थापना भएको ठाउँ श्रीनाथमण्डली लगायतका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदा पाठ्यक्रममा समेटिएको उनले बताए। त्यस्तै शहीद लखन गाउँपालिकाले पनि कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम तयार गरेको छ।

प्रथम शहीद लखन थापा, काउले भँगार, प्रसिद्ध धार्मिक स्थल मनकामना तथा बक्रेश्वर मन्दिरलगायत धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक महŒवका विषय पाठ्यक्रममा समेटिएको शिक्षा शाखाका मोहनराज विष्टले जानकारी दिए। ‘पाठ्यक्रम बनेको छ, अब बस्ने कार्यपालिका बैठकले यसलाई अनुमोदन गरेपछि पठनपाठन सुरु गर्छांै’, उनले भने, ‘यो शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम पढाइ हुन्छ। अरू कक्षालाई क्रमशः आगामी बवर्षहरूमा पढाइ गर्दै जान्छौं।’ पाठ्यपुस्तक नभए पनि स्थानीय विषय पढाउने शिक्षकलाई अभिमुखीकरण गरेर पढाउन लगाउने योजना रहेको विष्टले बताए।

धार्चे गाउँपालिकाले भने दुई वर्षअघि नै कक्षा १ को पाठ्यक्रम तयार गरेको छ। सो क्षेत्रमा बोलिने भाषामा पढाउने गरी पाठ्यक्रम तयार गरिएको गाउँपालिका प्रमुख सन्तोष गुरुङले जानकारी दिए। तर वडा नं. १ र २ मा पर्ने केरौंजा र वडा नं. ६ मा पर्ने काशीगाउँमा सो भाषा प्रयोग नहुने हुँदा पाठ्यक्रम कार्यान्वयनमा चुनौती आएको उनले बताए।