इलाम नगरपालिका–१० सिलपुरस्थित सडक खण्डमा कुखुराको दाना बोकेको एक मालवाहक ट्रक दुर्घटना भएको छ। आज बिहान करिब ०४:४० बजेको समयमा इटहरीबाट कुखुराको दाना बोकी फिदिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ००७२ नम्बरको एलपी ट्रक अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी तिनघरे इलामबाट प्रहरी सहायक निरीक्षक चारुचन्द्र ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गर्दा चालक मोरङ जिल्ला सुन्दरहरैचा निवासी करिब ४३ वर्षीय बाबुराम दाहाल (खत्री) सकुशल रहेको जनाएको छ।
प्रहरीका अनुसार ट्रक सडकको बायाँ साइडको नालामा पल्टिएको छ भने गाडीमा क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको र सडक अवरोधसमेत नभएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।