काठमाडौं- सरकारले सिटिइभिटीको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषदले प्रशासनिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनाल नियुक्त गरेको अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यक्षमता बढाउन विश्व बैंक अन्तर्गतको(आइडीए)बाट १० करोड अर्ब डलर सहुलिय ऋण स्वीकार्ने सरकारले निर्णय गरेको छ। त्यस्तैसाना सिंचाइ आयोजनाका लागि स्विस सरकारबाट करिब दुई अर्ब दुई करोड ४० लाख अनुदान लिने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले औद्योगिक कच्चा पदार्थका रुपमा आवश्यक पर्ने मरिच आयात गर्न उद्योगलाई स्विकृति प्रदान गरेको छ। कलंकी-नागढुङ्गा सुरुङमार्ग आयोजनामा स्थलमा जग्गा भोगचलन गर्दै आएका मोहीलाई मूल्यको ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध सरकारले गराउने भएको छ।
पुरातत्व विभागलाई तत्काल सार्ने अवस्था नभएकाले सर्वोच्च अदालतले चर्चेको जग्गामा रहने निर्णय सरकारले गरेको छ। स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रममा खर्च हुन नसकेको रकम कोभिड १९ का लागि रकमान्तरण गर्न सक्ने गरी स्थानीय तहलाई स्वीकृति प्रदान गरिएको छ।

