दमक/ दमक ९ चियादोकान चोकमा कार्यालय स्थापना गरी सञ्चालन हुँदै आएको शुभमंगल बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार १७ औं बार्षिकोत्सवको अवसरमा ज्येष्ठहरुलाई सम्मान गरेको छ ।
संस्थाको कार्यालय परिसरमा सामाजिक व्यक्तित्व दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद दाहालको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा औपचारिक कार्यक्रमबीच संस्थापक सदस्य उषा प्रधान हाडा र १७ जना ज्येष्ठ आमाबुबाहरुलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक दिलीप घिमिरेले जानकारी दिए ।

संस्थाले हकंबहादुर कुँवर, जीवनाथ दाहाल, यामबहादुर अधिकारीसहित ज्येष्ठहरुलाई टेक्ने लौरोसहित खादा ओढाएर सम्मान गरेको हो । केक काटेर संस्थाको बार्षिकोत्सवमा प्रसाद स्वरुप वितरण गरिएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष आचार्यले हरेक बर्ष संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरुमा सक्रिय सहभागितासहित योगदान गर्दै आएको स्मरण गराए ।
उनले संस्थाले झण्डै ७ करोड बढीको कारोबार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझै धेरै सदस्यहरुको सेवा केन्द्रित कार्यक्रमहरु अघि सार्ने प्रतिबद्धता दोहोरयाए ।

कार्यक्रमका वक्ताहरुले सानो सानो पुँजीलाई एकीकृत गर्दै वित्तीय क्षेत्रमा सदस्यहरुमा पहुँच स्थापित गर्न सहकारीका माध्यमबाट ठुलो सहयोग पुगेको भन्दै बैंकहरुमा भन्दा सहकारीमा कारोबार केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दमक ९ का पूर्व वडाध्यक्ष रामबहादुर धिमाल, चेतनशील टोल बिकास संस्थाका अध्यक्ष तिलक डाँगी, सेतुमारी कृषि सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ, समता कृषि सहकारी संस्थाका अध्यक्ष पर्शुराम रिजाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष श्याम धिमालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्र श्रेष्ठले गरेका थिए ।