दमक/ झापाको दमकमा मुख्य कार्यालय स्थापना गरी मोरङ र झापाका विभिन्न सेवा केन्द्रहरुमार्फत आफ्ना सदस्यहरुमाझ वित्तीय कारोबार गर्दै आएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिकोत्सव मनाएको छ ।
संस्थाको मुख्य कार्यालय परिसरमा बुधबार रक्तदानसहित रचनात्मक कार्यक्रमहरु गरेर बार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा संस्थाका सञ्चालक समिति, उपसमिति, कर्मचारी तथा इच्छुक सर्वसाधारणहरु समेत ५१ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष प्रशासन प्रमुख धर्मानन्द भट्टराईले जानकारी दिए ।
संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्यमा सञ्चालित बार्षिकोत्सव विशेष कार्यक्रम अन्तर्गत रक्तदानसँगै संस्थाका सेवा केन्द्र अन्तर्गतका कर्मचारीहरुबीच अन्तर सेवा केन्द्रस्तरीय हाजिरीजवाफ कार्यक्रम समेत सञ्चालन गरिएको थियो । रक्तदाताहरूलाई संस्थाको लोगो अंकित टी–सर्ट तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्तर कर्मचारी हाजिरिजवाफ प्रतियोगितामा दमक मूल कार्यालय र सुरुङ्गा, बुधबारे, बिर्तामोड तथा उर्लाबारी सेवा केन्द्रका कर्मचारीहरूको सहभागिता थियो ।
दमक कार्यालय पहिलो, सुरुङ्गा सेवा केन्द्र दोश्रो र बुधबारे सेवा केन्द्र तेस्रो भएका छन् ।
हाजिरीजवाफमा पहिलो, दोश्रो र तेस्रो हुने कर्मचारी टोलीले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
सहकारीमा कार्यरत कर्मचारीहरुलाई बजार तथा सहकारी क्षेत्रको ज्ञान बढाउने उद्धेश्यले सो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
सो कार्यक्रममा दमकस्थित राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, सञ्चालक समितिका सचिव ज्ञाननाथ पौडेल, सञ्चालक समितिका कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालक सदस्य सुवासचन्द्र गर्तौला लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष खरेलले वार्षिकोत्सव कार्यक्रमको औपचारिक समापन गर्दै संस्था बिषय परिस्थितीको सामना गर्दै निरन्तर अघि बढेको स्मरण गरे ।
उनले आगामी दिनमा थप सशक्त भएर सामाजिक उत्तरदायित्व अन्तर्गका कार्यक्रमहरुलाई पनि अघि बढाइने उनको भनाई छ ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक एवं कार्यालय प्रमुख युवराज सिग्देलले गरेका थिए ।